नागरिक सर्वोच्चताका लागि सडक आन्दोलनमा उत्रेको एकीकृत माओवादीले स्वायत्त राज्य घोषणा कार्यक्रम फिर्ता लिएको छ। राजदूतहरूको आग्रहमा अन्तर्राष्ट्रिय विमानस्थल नाकाबन्दीको कार्यक्रम फिर्ता गरेको माओवादीले अरू दलसित राजनीतिक भेट तीव्र पार्दै स्वायत्त गणराज्य घोषणाको कार्यक्रमसमेत फिर्ता लिएको हो।
यी दुई कार्यक्रम फिर्ता गरेर माओवादीले राजनीतिक गतिरोध अन्त्य गर्न आफू लचिलो भएको संकेत दिएको जानकारी त्यसका नेताले दिएका छन्। अरू दलसितको राजनीतिक भेटवार्ताका क्रममा माओवादी बढी लचिलो बन्दै जाने र सहमतिका लागि मार्ग खोल्ने सहमति भएको जानकारी स्रोतले दिएका छन्।
माओवादी उच्च स्रोतले एमाले अध्यक्ष झलनाथ खनाल नयाँ दिल्लीबाट फर्केपछि राजनीतिक गतिरोधको निकास निस्कनसक्ने जानकारी दिए। 'सहमतिको रोडम्याप ठ्याक्कै तय भएको छैन। एमाले अध्यक्ष झलनाथ खनाल दिल्लीबाट फर्केपछि केही निकास निस्कन सक्छ,' माओवादीका एक पोलिटव्युरो सदस्यले भने।
अरू दलले स्वायत्त गणराज्य घोषणा कार्यक्रम अन्तरिम संविधान र बृहत् शान्ति सम्झौताविपरीत भएको आवाज उठाएपछि माओवादीलाई उक्त कार्यक्रम फिर्ता लिन तीव्र दबाब परेको थियो। माओवादी आन्दोलन हिंसात्मक हुने सत्तापक्षको अनुमानविपरीत उनीहरूले आफ्नो आन्दोलनको स्वरुप शान्तिपूर्ण बनाएका छन्।
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले यही २६ र २७ गतेको सिंहदरबार घेराउ कार्यक्रममा बढीभन्दा बढी जनता उतार्ने दिशामा पार्टीलाई केन्द्रित गर्न २३ गतेको गणराज्य घोषणा कार्यक्रम फिर्ता लिएको बताए।
'२३ गतेको कार्यक्रम सांकेतिक र प्रचारात्मकमात्र थियो। दोस्रो चरणको मुख्य कार्यक्रम २६ र २७ मा सिंहदरबार घेराउ गर्ने हो। मुख्य कार्यक्रममा अत्यधिक जनता उतार्ने पार्टीको योजना छ। त्यसैमा केन्द्रित हुनका लागि गणराज्य घोषणा कार्यक्रम स्थगित गरेका हौं,' भट्टराईले नागरिकसित भने।
भट्टराईले पार्टीको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका तर्फबाट शुक्रबार विज्ञप्ति जारी गरी गणराज्य घोषणाका लागि पार्टीको आन्तरिक तयारी नपुगेकाले हाललाई उक्त कार्यक्रम स्थगित गरिएको दाबी गरेका छन्। तयारी पूरा भएपछि कार्यक्रम अघि बढाइने विज्ञप्तिमा उल्लेख छ।
'संघर्षको विकाससँगै हामीले पूर्वघोषित कार्यक्रममध्ये केहीमा सामान्य संशोधन गर्नुपर्ने आवश्यकता महसुस गरेका छौं। त्यसैअनुरुप कात्तिक २३ गतेका निम्ति प्रस्तावित गरिएको स्वायत्त गणराज्यहरू घोषणा गर्ने कार्यक्रम हाललाई स्थगित गरिएको छ र उपयुक्त समयमा त्यसलाई पुनः अगाडि ल्याइनेछ,' शुक्रबार जारी विज्ञप्तिमा छ।
विज्ञप्तिमा 'कात्तिक २४ गते काठमाडौं उपत्यका नाकाबन्दीअन्तर्गत एअरपोर्टको आवागमनसमेत रोक्ने कार्यक्रम रहेकोमा एअरपोर्ट अवरुद्ध नगर्ने तर, उपत्यकाबाहिर जाने-आउने सडकमार्ग अवरूद्ध गर्ने निर्णय गरिएको' उल्लेख छ।
एमाले नेता केपी ओली निवासको बैठकपछि माओवादी हरेक सवालमा लचिलो भएर जाने र बजेट पारित हुनेमा अरू दलका नेता आश्वस्त बनेका छन्। शुक्रबार बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र गृहमन्त्री भीमबहादुर रावलको भेटमा माओवादी आन्दोलन र सुरक्षा स्थितिबारे छलफल भएको थियो।
छलफलमा कोइरालाले गृहमन्त्रीलाई माओवादीको २३ गतेसम्मको आन्दोलन संयम हुने भएकाले त्यसबेलासम्म सुरक्षा निकायले पनि त्यही व्यवहार गर्न सुझाव दिएको जानकारी स्रोतले दिएको छ। '२३ गतेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालसित छलफल हुन्छ। २३ गतेसम्म धरपकड नगर्नू,' कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
आन्दोलनरत माओवादीले अन्तर्राष्ट्रिय समुदाय र दलहरूसँग आफू लचिलो भएको देखाउन उसले घोषित कार्यक्रम रोकेको छ। 'अन्तर्राष्ट्रिय समुदायको आग्रह, राष्ट्र संघले सहमतिको सरकारका लागि आग्रह गरेका विषयलाई पार्टीले गम्भीरताका साथ लिएको छ। केही आन्दोलन कार्यक्रम फिर्ता लिएर सहमति निर्माणका लागि प्रयास गर्न उपयुक्त वातावरण तयार गरेका हौं,' एक माओवादी नेताले भने।
Source:Nagariknews
Friday, November 6, 2009
Subscribe to:
Post Comments (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com
No comments:
Post a Comment