संविधानसभाभित्र नयाँ संविधानमा उल्लेख गनुपर्ने धेरै मुद्दा विवादित छन् । त्यस्ता विषयमा सर्वसाधारणको कमै चासो हुने गर्छ । तर डेढ महिनायता संवैधानिक समितिमा भित्रिएको एउटा विवादले भने धेरैको ध्यान खिचेकोमात्र छैन, राष्ट्रिय बहस नै निर्माण गरेको छ । त्यो विवाद हो- राष्ट्रिय झण्डा फेर्ने कि नफेर्ने ?
यो विषयलाई लिएर राजनीतिक दल र सभासदहरूबीच तीव्र ध्रुवीकरण छ । एकथरी झण्डा नफेरी नहुने अडानमा छन् भने अर्काथरी परिवर्तनका नाममा पुराना सबैलाई हटाउन नहुने तर्क गर्दैछन् । संवैधानिक समितिभित्र उनीहरूको चर्काचर्की हेर्दा यो विषयले निकै ठूलो तिक्तता र विवाद तिम्त्याउने संकेत गर्छ । सभासदहरूबीच सहमति जुट्न नसकेपछि समितिले हाल छलफलको विषय अन्तै मोडेको छ ।
चन्द्र-सूर्य अंकित त्रिकोणात्मक झण्डाले गणतन्त्रात्मक मुलुकको पहिचान नझल्काउने तर्क फेर्नुपर्छ भन्नेहरूको छ । यो कित्तामा प्रमुख रूपमा माओवादी उभिएको छ । उसलाई आदिवासी-जनजाति समुदायका सभासद र दलित जनजाति पार्टीले साथ दिएका छन् ।
'एकात्मक राज्यको मान्यता बोकेको झण्डाले बहुराष्ट्रिय राज्यको प्रतिनिधित्व गर्न सक्दैन', समितिको बैठकमा माओवादी सभासद देव गुरुङले पेस गरेको तर्क छ, 'संंघीयता झल्किने नयाँ झण्डा आवश्यक छ ।' यो झण्डालाई उनीहरूले सामन्ती राजतन्त्रात्मक व्यवस्थासँग पनि जोडेका छन् । चन्द्र र सूर्यवंशी राजाहरूले यो झण्डा प्रयोगमा ल्याएको भन्ने उनीहरूको दाबी छ । जसलाई पछिका राजाहरूले पनि निरन्तरता दिएकाले यो राजतन्त्रकै एउटा अवशेष हो भन्ने बुझाइ देखिन्छ ।
तर माओवादी बुझाइ गलत भएको दाबी इतिहासविदको छ । 'कुनै पनि राजाहरूले चन्द्र-सूर्य अंकित त्रिकोणात्मक झण्डा प्रयोगमा ल्याएको इतिहास छैन', इतिहासविद ज्ञानमणि नेपाल भन्छन्, 'राजाहरूले आफ्ना छुट्टै झण्डाहरू प्रयोग गर्थे, यसलाई राजततन्त्रसँग जोड्नु बेतुकको कुरा हो ।'
संविधानसभाभित्रका दोस्रो र तेस्रो ठूला दल कांग्रेस, एमाले झण्डा फेर्ने मतको विपक्षमा छन् । जनताका भावनासँग सम्बन्ध गाँसिसकेको र अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाएको झण्डा फेर्न नहुने उनीहरूको धारणा छ ।
कांग्रेस सभासद विमलेन्द्र निधिले समितिमा पेस गरेको धारणा छ, 'यो कुनै राजतन्त्रसँग गाँसिएको झण्डा होइन, नयाँ व्याख्या गरेर अहिलेकै झण्डालाई कायम राख्नुपर्छ ।'
झण्डामा अंकित चिह्न रंग र आकारले कुनै पनि वर्ग, समुदाय र जातिलाई उपेक्षा नगरेको उनीहरूको दाबी छ । यदि कसैलाई यसले ठेस पुर्याएको लाग्छ भने परिवर्तित सन्दर्भमा झण्डाको नयाँ व्याख्या गर्न सकिने धारणा उनीहरूको छ ।
तर यसमा आदिवासी-जानजाति सभासदहरू सहमत छैनन् । झण्डामा उल्लिखित रंग, चिह्न हिन्दूधर्म र राजतन्त्रको मान्यतासँग अन्तरसम्बन्धित रहेको उनीहरूको तर्क छ । 'झण्डा संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार समावेशिता झल्किने हुनुपर्छ', आदिवासी- जनजाति महासंघका अध्यक्ष तथा सभासद पासाङ शेर्पा भन्छन्, 'यसले हिन्दूधर्मको मर्मलाई मात्र बोकेको छ ।'
झण्डामा उल्लिखित चिह्नले समावेशी नेपालको परिभाषा गर्न सक्ने र भौगोलिक रूपमा हिमाल, पहाड, तराईको अर्थ पनि नबोक्ने भएकाले परिवर्तन गर्नुपर्ने तर्क सभासद शेर्पाको छ ।
झण्डा परिवर्तनलाई ठूलो राजनीतिक विषय बनाउन खोजिए पनि अध्येताहरू भने यो बहसलाई निरर्थक ठान्छन् । चन्द्र-सूर्य अंकित तीनकुने झण्डाको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्वसमेत रहेको उनीहरूको धारणा छ ।
'धार्मिक, सांस्कृतिक र आयुर्वेद विज्ञानको दृष्टिले पनि यो झण्डाको महत्त्व छ', इतिहासविद नेपाल भन्छन्, 'चन्द्र र सूर्यले प्रकृतिको पनि झल्को दिन्छ ।'
उनका अनुसार झन्डै १५ सय वर्ष अघिदेखि नै तीनकुने झण्डाको अस्तित्व रहेको पाइन्छ । 'परापूर्वकालमा मन्दिरहरूमा तीनकुने झण्डा र ध्वजाहरू फहराइएको पाइने गरेको उनी बताउँछन् । उनका अनुसार झण्डामा अंकित सेतो रंगले सत्व, रातोले रज र नीलोले तमो गुणलाई उल्लेख गरेको छ । सत्व गुणले प्रकाश, स्वच्छता, रजो गुणले तेज, साहस, वीरता र स्वतन्त्रता तथा तमो गुणले दुष्ट र विपक्षीको तेजोवध गराउने भएकाले अहिलेको झण्डा शास्त्रसम्मत रूपमा तयार भएको उनको दाबी छ ।
विश्वका धेरै मुलुकहरू उपनिवेशमा थिए । उपनिवेशबाट मुक्त भएपछि उनीहरूले परिवर्तित अवस्थामा झण्डा फेरेको उदाहरण पाइन्छ । तर नेपाल सधैं स्वतन्त्र र अटल रहँदै आएको झण्डा फेर्नु आवश्यक नरहेको धारणा प्राध्यापक दयाराम श्रेष्ठको छ । चन्द-सूर्य रहुन्जेल नेपाल स्वतन्त्र र अटल रूपमा रहिरहनेछ भन्ने अर्थमा झण्डा बुझ्न र परिभाषित गर्न सकिने अवस्था पनि छ ।
चन्द्र र सूर्यवंशी राजाहरूले प्रचलनमा ल्याएको भन्ने धारणा गलत भएको उनीहरू बताउँछन् । अध्येताहरूका अनुसार लिच्छविकालीन राजाहरूले 'सूर्यवंशी' र तराई सिम्रौनगढका नान्यदेव र उनका वंशजले आफूलाई 'चन्द्रवंशी' भन्ने गर्थे । सूर्यवंशीले आफ्नो हनुमान र चन्द्रवंशीले गरुड अंकित ध्वजा फहराउँथे । 'त्यसैले अहिलेको झण्डालाई उनीहरूसँग जोड्नै मिल्दैन', इतिहासविद नेपाल भन्छन्, 'राजाहरूले आफ्नो छुट्टै झण्डा प्रयोग गर्ने गरेको इतिहास छ ।' त्यसो त राजतन्त्र ढल्नु अघिसम्म पनि राजाहरूले 'सिंह अंकित चारकुने झण्डा प्रयोग गर्थे । गाडीमा सवार हुँदा पनि उनीहरू राष्ट्रिय झण्डा प्रयोग गर्दैनथे ।
झण्डा फेर्नेमात्र होइन, यसका केही विकल्पसमेत बहसमा आएका छन् । जतिवटा राज्य बन्छ, त्यसको प्रतीक झल्किनेगरी झण्डामा ताराहरू राख्नुपर्ने प्रस्ताव पनि आएका छन् । कसैले अहिलेकै चन्द्र-सूर्यको वरिपरि तारा थपेर त्रिकोणात्मक आकारकै झण्डा राख्न सकिने मत पनि अघि सारेका छन् ।
केही सभासद भने राष्ट्रिय गानजस्तै झण्डाको नमुनाका लागि प्रतियोगिता सञ्चालन गर्नुपर्ने अडानमा छन् । 'राष्ट्रिय गानजस्तै यसका लागि पनि प्रतियोगिता सञ्चालन गरौं', सभासद शेर्पा भन्छन्, 'जुन नमुना राम्रो हुन्छ, त्यही छानौं । तर झण्डा फेर्नै हुँदैन भनेर बहसमै प्रतिबन्ध लगाउन पाइँदैन ।' त्रिकोणात्मक भएकाले यसको दृश्य सम्पादन गर्ने शक्तिसमेत नभएको तर्क शेर्पाको छ ।
तर त्रिकोणात्मक भएकाले नै विश्वका अन्य मुलुकहरूको भन्दा नेपाली झण्डा फरक छ । यसको आकारमा रहेको फरकपन र चिह््नलाई सबैले पि्रय मानेका छन् । जसलाई परिवर्तन गर्दा नेपाली झण्डाको फरकपनको परिचय विश्व मानचित्रबाट हराउन सक्छ ।
नयाँ संविधानमार्फत मुलुक परिवर्तनको बाटो निर्माण समयमा झण्डा फेर्ने बहस अस्व्ााभाविक होइन । तर परिवर्तन गर्ने नाममा राम्रा कुरा पनि हटाउनुपर्छ भन्ने तर्क जायज छैन । झण्डा परिवर्तनले मात्र नयाँ नेपाल हुने होइन । नयाँ नेपाल हुन त व्यवहार, मानसिकता र चिन्तन परिवर्तन गर्नु जरुरी छ ।
Source:ekantipur/Durga Khanal
No comments:
Post a Comment