'सपनामा महादेव आएर तेरो छोरो राक्षस हो, बलि दे भनेर आदेश दिएपछि मैले आँगनमा निकालेर बन्चरो हानेर बलि दिएको हुँ, मारेको होइन’
केपी ढुंगाना
एक बाबुले ११ वर्षीय नाबालक छोरालाई बन्चरोले घाँटीमा हानेर दुई टुक्रा पारे । किनकि 'सपनामा आएका महादेवले उनलाई छोराको बलि दिन आदेश’ दिएका थिए ।
महादेवको आदेश भन्दै दाङको नारायणपुर- ३ चारबगियाका रामबहादुर घर्तीले आफ्नै आँगनमा सोमबार साँझ छोराको 'बलि' दिए । छोराको टाउको प्लास्टिकमा हालेर ३० मिटर टाढाको खोलामा फाले । छोराको गिँड आँगनमा छाडेर चुकुल लगाएर भित्र मस्त सुते ।
४२ वर्षीय घर्तीले सोमबार बेलुका पौने पाँच बजे ११ वर्षीय छोरा गाविन्दलाई आँगनमा ल्याएर घाँटीमा बन्चरो प्रहार गरेका थिए । पटक-पटक हानेर छिनालेपछि टाउको प्लास्टिकको झोलामा हालेर खोलामा फालेपछि महादेवको आदेश पूरा भयो भन्दै उनी घर फर्किएका थिए ।
रोल्पाबाट बसाइँ सरेर दाङको नारायणपुर आएका रामबहादुरले अहिलेसम्म पाँच बिहे गरेका छन् तर सबै श्रीमती पोइल गएपछि उनी छोरी र छोराका साथ बस्दै आएका थिए । छोरी बजार घुम्न गएको वेला बाबुले छोरालाई बन्चरो प्रहार गरेका थिए ।
आँगनमा लास देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय नारायणपुरमा फोन गरेर घटनाको बारेमा जानकारी गराएपछि पौने ५ बजे इप्रका नारायणपुरबाट प्रहरी निरीक्षक गोविन्द थापाको कमान्ड गएको प्रहरी टोलीले घर्तीलाई पक्राउ गरेको थियो ।
तर हत्याको खबर पाउनासाथ गाउँलेले रामबहादुरको घर घेरेका थिए । खबर पाएपछि पुगेको प्रहरी टोलीलाई गाउँलेले घटना-विवरण दिएका थिए । 'खोल्सामा टाउको छ भन्ने जानकारी पाएपछि हामीले टाउको ल्यायौँ, अनि ढोका फोरेर घर्तीलाई पक्राउ गर्यौँ । पक्राउ पर्दा पनि बन्चरो उनको हातैमा थियो । उनले कुनै प्रतिकार गरेनन्,' प्रहरी निरीक्षक थापाले भने ।
अभियुक्त रामबहादुरलाई प्रहरी कार्यालय ल्याएर सोधपुछ गर्दा 'सपनामा महादेव आएर तेरो छोरो राक्षस हो, मलाई बलि दे' भनेकाले आफूले छोरालाई बन्चरो हानेर मारेको बताएका छन् । 'मैले छोरालाई मारेको होइन, महादेवको आदेश मानेर बलि दिएको हुँ,' उनले प्रहरीलाई भनेका छन् ।
प्रहरीले रामबहादुरलाई नियन्त्रणमा लिएपछि गाउँलेले उनलाई हातपात गर्न खोजेका थिए । 'आफ्नो नाबालक छोराको हत्या गर्ने यो राक्षस हो, यसलाई पनि मार्नुपर्छ' भन्दै गाउँलेले घेरेपछि प्रहरीले सुरक्षाघेरा बढाएर हतारहतार उनलाई जिल्ला प्रहरी कार्यालय घोराही ल्याएको थियो ।
घनास्थलको प्रारम्भिक बयानलाई उनले जिल्ला प्रहरी कार्यालय दाङ पुग्दा पनि दोहोर्याएका छन् । जिप्रका दाङका प्रमुख एसपी पुष्कलराज रेग्मीले भने, 'उसले छोरोलाई महादेवलाई बलि दिएको बताइरहेको छ । अहिले हामी अनुसन्धानमा छौँ ।'
प्रारम्भमा प्रहरीले घर्तीको मानसिक अवस्था गडबड भएको अनुमान गरेको थियो । तर, हिरासतमा बस्दा उनले मानसिक गडबडीको कुनै व्यवहार देखाएका छैनन् । एसपी रेग्मीले भने, 'गाउँले कहिलेकाहीँ उट्पट्याङ गफ गथ्र्यो भन्छन्, तर उसले हिरासतमा त्यस्तो व्यवहार गरेको छैन ।'
प्रहरीका अनुसार तीन वर्षअगाडि पाँचौं श्रीमतीसमेत पोइल गएपछि उनी छोरी र छोराको साथमा बस्दै आएका थिए । उनीसित कुनै श्रीमती टिकेनन् । पाँचौं श्रीमती पनि अर्कैसँग हिँडेपछि उनी केही विरक्तिएको स्थानीयवासीको भनाइ उद्धृत गर्दै एसपी रेग्मीले भने । रेग्मीले भने, 'कतै छैटौं श्रीमती ल्याउने चक्करमा छोराको हत्या गरेको हो कि भन्ने आशंका लागेर अनुसन्धान पनि गर्यौँ, तर हत्यामा उनीबाहेक अर्को कसैको संलग्नता देखिएको छैन ।' हत्या अभियोग स्वीकार गरिसकेकाले उनीमाथि ज्यानमुद्दामा कारबाही अगाडि बढाइएको एसपी रेग्मीले जानकारी दिए ।
Thursday, October 8, 2009
Subscribe to:
Post Comments (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com
No comments:
Post a Comment