पूँजीबजारले पछिल्लो डेढ वर्षयता सेयर बजारमा लगानी गर्नेले २ खर्ब ४२ अर्ब रुपैयाँ गुमाएको छ । सेयर मूल्य लगातार झरेपछि पूँजीबजारले यो रकम गुमाएको हो ।
मंगलबार बजार पूँजीकरण ३ खर्ब ७० अर्ब ३९ करोड रुपैयाँमा झरेपछि लगानीकर्ता घाटा सहन बाध्य छन् । गत भदौ १५ गते नेप्से उच्च पुगेको दिन बजार पूँजीकरण ६ खर्ब १२ अर्ब ५४ करोड रुपैयाँ थियो । बजार पूँजीकरण स्टक एक्सजेन्जमा सूचीकृत कम्पनीको कुल सेयरमा हालको बजार मूल्यले गुणन गरेर निकालिन्छ ।
सेयर पूँजीकरणमा भारी गिरावट आएपछि सर्वाधिक लाभदायी भनिने कम्पनीको सेयरमा लगानी गरेकाले पनि घाटा बेहोर्नुपरेको छ ।
बैंकमध्ये सबैभन्दा बढी प्रतिफल दिने स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५० कित्ता सेयर किनेका शिवजी अधिकारीले डेढ वर्षमा करिब ७७ हजार रुपैयाँ गुमाएका छन् । उनले प्रतिकित्ता ८ हजार रुपैयाँमा सेयर किनेपछि दुई पटक बोनस सेयर र नगद लाभांश लिए ।
उनको ५० कित्ता सेयर बढेर १ सय १३ पुग्यो र ७ हजार ७ सय नगद लाभांश पनि लिए । बैंकले गत वर्ष ५० प्रतिशत बोनस सेयर तथा ८० प्रतिशत नगद लाभांश र यो वर्ष ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद लाभांश दिँदा पनि उनले ७७ हजार घाटा खानुपरेको छ । मंगलबार स्टक एक्सचेन्जमा सो बैंकको प्रतिकित्ता २ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको छ ।
पूँजीबजारमा लगानी गर्ने करिब १२ लाख लगानीकर्ताको अवस्था अधिकारीको भन्दा फरक छैन । दुई वर्षयता लगानी गर्नेले कम्तीमा ३० प्रतिशत गुमाइसकेका छन् । लगानीकर्ताको नामबाट आन्दोलनमै होमिएका कमल भारतीले हरेक लगानीकर्ताले ३० देखि ५० प्रतिशतसम्म गुमाएको बताए । “भर्खरै पूँजीबजारमा आउनेको मनोबल गिरेको छ”, उनले भने ।
लगानीकर्ता हरिकृष्ण पाण्डेले नेप्सेमा आएका गिरावटले साधारण लगानीकर्ता जोखिममा परेको बताए । बैंकको ऋण लिएर सेयर किनेकाहरूले मूल्य घटेर पनि बेच्न बाध्य भएको पाण्डेले बताए । उनले लगानीकर्ताको मनोबल उचाल्न कसैले नसोचेको गुनासो गरे ।
स्टक एक्सचेन्जका महाप्रबन्धक शंकरमान सिंहले सबल भनिएका कम्पनीको सेयर मूल्य अप्रत्याशित रूपले घट्नु चिन्ताजनक भएको बताए । “दोस्रो त्रैमासिक वित्तीय विवरण राम्रो हुँदा पनि एकाएक सेयर मूल्य घट्नु आश्चर्यजनक हो”, उनले भने ।
साना लगानीकर्ताले ठूला लगानीकर्ता मूल्य घटाएर सेयर किन्न सक्रिय भएको आरोप पनि लगाउने गरेका छन् । सेयर मूल्य बढेको समयमा सरकार तथा धितोपत्र बोर्ड सक्रिय हुने र अहिले घटेको समयमा चुप लागेर बसेको साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजङ जीसीले बताए ।
“यही अवस्था हुने हो भने नेप्से ४५० अंकभन्दा तल जानेछ”, उनले भने । तत्काल लगानीकर्तालाई सचेतता तुल्याउँदै फेरि जागरण अभियान सञ्चालन गर्नुपर्ने भन्दै सेयरबजारबाट बाहिरिएका ठूला लगानीकर्ता मौकाको फाइदा उठाउन सक्रिय हुने अवसरका रूपमा लिन लागेको जीसीले बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. सूरवीर पौड्यालले सरकारले आफूलाई काम गर्न नदिइएको बताउँदै आएका छन् । उनले सरकारले बोर्डमा प्रतिनिधित्व गर्ने पदाधिकारी नपठाएर असहयोग गरेको बताए । “काम गर्नै दिइँदैन त कसरी काम गर्ने ?” उनले भने ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ९.६७ अंकले घटेपछि ४७९.७३ अंकमा पुगेको छ । मंगलबार १.९८ प्रतिशतले बजार तल झरेको छ । २०६३ फागुन २३ गते नेप्से ४७६.०७ अंकमा कायम थियो ।
मंगलबार ५९ कम्पनीको ९ सय ३ कारोबारबाट ९७ हजार ४ सय ७२ कित्ता सेयर खरिद बिक्री भई ४ करोड १५ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसमध्ये ४३ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ९ कम्पनीको सेयर मूल्यमा मात्र सामान्य वृद्धि देखिएको छ भने ७ कारोबारमा खासै परिवर्तन भएन ।
मंगलबार कारोबार भएकामध्ये अन्य समूहगत परिसूचकबाहेक सबै सबै समूहगत परिसूचक घटेको छ । सबैभन्दा बढी बैंकिङ परिसूचक घटेको छ । मंगलबार बैंकिङ १७.४४, विकास बैंक ६.५९, जलविद्युत् ६.५३, फाइनान्स ०.९३, बिमा समूहगत परिसूचकमा १.३३ अंकको गिरावट देखिएको छ भने अन्य समूह ५.८८ अंकले बढेको छ । नेपाल टेलिकमको सेयर मूल्य सामान्य बढेपछि अन्य समूह सूचक बढेको हो ।
Source: Karobar Daily
Tuesday, February 9, 2010
Subscribe to:
Post Comments (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com
No comments:
Post a Comment